जनार्दन शर्माद्धारा प्रचण्डको राजीनामा माग गर्दै दबाब

User Image Prime TV News २ हप्ता अगाडि
Image of जनार्दन शर्माद्धारा प्रचण्डको राजीनामा माग गर्दै दबाब

काठमाडौ ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। उनले पार्टी पुनर्निर्माणका लागि नेतृत्व हस्तान्तरण आवश्यक रहेको भन्दै यसबारे १६ बुँदे विश्लेषण मंगलबार सार्वजनिक गरेका छन्।

शर्माले जेनजी आन्दोलनले भ्रष्टाचारयुक्त राजनीति र संस्कृतिमा लागेको प्रहारलाई सकारात्मक दिशामा अगाडि बढाउनुपर्ने बताएका छन्। उनले दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीजस्ता भ्रष्ट प्रवृत्तिहरूलाई उजागर गरेको जेनजी आन्दोलनले देशलाई नयाँ बाटो देखाएको उल्लेख गरेका छन्।

उनले वर्तमान सरकारलाई सहयोग गर्दै निर्वाचनमा जानको लागि अनुकूल वातावरण बनाउनुपर्ने जोड दिएका छन्। साथै पार्टीभित्र सम्पत्ति छानबिनको माग कार्यान्वयन गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्ने पनि उनको आग्रह छ। २०४६ पछि विभिन्न पदमा बसेका सबै निवृत्तहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरी जेनजी आन्दोलनमा भएको जनधनको क्षतिको अनुगमन गर्नुपर्ने उनले भने।

शर्माले पार्टी नेतृत्व चुनावलाई प्रत्यक्ष निर्वाचित प्रणालीमार्फत सञ्चालन गर्नुपर्ने, नेतृत्वका लागि स्पष्ट र ठोस नीति बनाउनुपर्ने, र वर्तमान निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक प्रणालीमा परिवर्तन गर्नुपर्ने विषयमा पनि जोड दिएका छन्। त्यस्तै, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई पनि पार्टीभित्र गम्भीर रूपमा उठाउनुपर्ने माग उनले गरेका छन्।

दलित महिलाका समस्या समाधान, सांस्कृतिक विचलन र यौन अराजकताको छानबिन, शहीद तथा बेपत्ता परिवारहरूको संरक्षण, श्रम तथा आर्थिक उत्पादनमा स्वरोजगार सृजना लगायतका बुँदाहरू पनि उनीहरूले सार्वजनिक गरेका छन्।

उनले राष्ट्रियताको संरक्षणमा पार्टी पंक्तिलाई सचेत राख्नुपर्ने र यसका लागि संगठनात्मक पुनर्निर्माण आवश्यक रहेको बताए। जनार्दन शर्माले एक वर्षदेखि पार्टी पुनर्निर्माणका लागि नेतृत्व हस्तान्तरण हुनुपर्ने माग गर्दै आएका छन्।