काठमाडौं १ बाट स्वतन्त्र उम्मेदवारी दिने फणिन्द्र नेपालको घोषणा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । ग्रेटर नेपाल अभियानका प्रमुख अभियन्ता फणिन्द्र नेपालले आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्ने भएका छन् ।
३५ वर्षदेखि नेपालमा राष्ट्रिय सीमाको रक्षाको लागि संघर्ष गर्दै आएका नेपालले अब आफ्नो आवाज संसदसम्म पुर्याउने उद्देश्यका साथ चुनावी मैदानमा होमिन लागेका हुन्। नेपालले ग्रेटर नेपाल राष्ट्रियता र नेपालको गुमेको भूभाग फिर्ता ल्याउने आन्दोलनमा प्रमुख भूमिका निर्वाह गरेका गर्दै आएका छन् ।
उनले भने, "मैले ३५ वर्षसम्म एक्लै यो आन्दोलन चलाएको छु। कतै पनि साथ नपाउँदा पनि यो संघर्षमा थाकिनँ। अब मेरो यो आवाज संसदसम्म पुर्याउन चाहन्छु।" फणिन्द्र नेपालले आफूले काठमाडौं १ क्षेत्र रोजेको कारणको बारेमा अनपेक्षित जवाफ दिएका छन्।
"मसँग चुनावी खर्च गर्नका लागि एक पैसा पनि छैन। कलेजको पेन्सनले मात्र जिउन सक्छु। म मनोनयनको लागि मतदातासँगै हात फैलाएर पैसाको व्यवस्था गर्ने सोचमा छु। यो क्षेत्र विशेष छैन, सबै क्षेत्र मेरो लागि समान छन्।" उनले थपे, "काठमाडौं १ मा म हिँडेर जनताको घर–घर पुग्न सक्छु, जसका कारण यो क्षेत्र रोजेको हुँ।"
उनले यो क्षेत्रबाट चुनाव लड्ने निर्णयसँगै, चुनाव चिह्नको रूपमा "जंगेपिल्लर" (सीमास्तम्भ) माग गर्ने विचार व्यक्त गरेका छन्। नेपालका अनुसार, यो चिह्न नेपालको सीमाको रक्षाका प्रतीकको रूपमा उपयुक्त हुनेछ, किनकि उनी ३५ वर्षदेखि यस मुद्दामा संघर्ष गर्दै आएका छन् ।













