पार्टीको मापदण्ड विपरित रेणु दाहाललाई उम्मेदवारको रुपमा सिफारिस
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीले जारी गरिएको मापदण्डको उल्लंघन गर्दै रेणु दाहाललाई आगामी निर्वाचनमा उम्मेदवारको रुपमा सिफारिस गरिएको पाइएको छ।
नेकपा चितवन जिल्ला कमिटीले पार्टीको निर्देशन विपरित भरतपुर महानगरपालिका प्रमुख दाहाललाई उम्मेदवारको लागि सिफारिस गरेको हो । केही दिन अघि नेकपा चितवनको बैठकले दाहाललाई चितवन क्षेत्र नं.३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको थियो ।
नेकपाले पुस ४ गते जारी गरिएको विशेष सर्कुलरमा पार्टीका उम्मेदवार चयन प्रक्रिया र मापदण्डका लागि स्पष्ट मापदण्ड र योग्यता तोकेको छ । उम्मेदवारहरूलाई राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहका पदमा वहालवाला हुन नहुने आधारभूत कानुनी योग्यताको रुपमा उल्लेख गरिएको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजक माधब नेपालले हस्ताक्षर गरि जारी गरिएको उक्त सर्कुलरमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि पार्टीले उम्मेदवारको नाम सिफारिस गर्ने प्रक्रिया र मापदण्ड पालना गर्न सम्बन्धित कमिटीहरुलाई निर्देशन पनि दिइएको छ ।
यसका साथै उम्मेद्वारको छनोटमा पार्टीको नीति र सिद्धान्तको पालना गर्नुका साथै विशेषगरी, उम्मेदवारको सिफारिस गर्दा उनीहरूको योग्यता र मापदण्ड पुरा गर्नुपर्ने कुरामा जोड दिइएको छ। तर, उक्त सर्कुलरमा उल्लेख गरिएको मापदण्डको विपरीत दाहालको नाम सिफारिस भएको हो ।
दाहाल अहिले भरतपुर महानगरपालिकाको मेयर पदमा कार्यरत छिन् । भरतपुर महानगरपालिकाको एक बर्षे कार्यकाल बाँकी छँदै महानगर प्रमुख दाहालले राजीनामा दिएर चुनावमा होमिने तयारी गरेको जनाइएको छ । उनको सिफारिस जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइएको छ ।
तर नेकपाका एक नेताले भने विशेष सर्कुलर पार्टीको नयाँ नेतृत्वको विकासमा प्रोत्साहन दिने र आगामी चुनावमा पार्टीको आन्तरिक संरचनामा परिवर्तन ल्याउने अनुमानका साथ जारी भएको बताए । तर पदमा भएकाहरु नै फेरि राजीनामा दिएर चुनावमा आउन खोज्नु र पदमा वहाल रहेकाहरुलाई नै सिफारिस गरिनु गलत भएको उनले बताए ।
के गर्लान नारायणकाजी ?
नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ अहिले राष्ट्रिय सभा सदस्य छन् । उनको कार्यकाल यहि फागुन २० गते सकिदै छ । आसन्न फागुन २१ गते घोषित निर्वाचनमा गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन श्रेष्ठले राष्ट्रियसभा छाड्ने तयारी गरेको बताइएको छ । यद्यपि उनले कहिले राजीनामा दिने भन्ने स्पष्ट भएको छैन ।
यसअघि ०७४ को निर्वाचनमा श्रेष्ठ नयाँ शक्ति पार्टीका तत्कालीन संयोजक डा बाबुराम भट्टराईसँग ६ हजार ८ सय ७४ मतान्तरले पराजित भएका थिए । काँग्रेस समर्थनमा उम्मेदवार बनेका भट्टराइले ३१ हजार ८ सय ७ र वाम गठबन्धनका श्रेष्ठले २४ हजार ९ सय ३३ मत पाएका थिए ।
तर, उनी त्यसको दुई वर्षपछि ०७६ माघ ९ मा ३४ सय ६२ मतभारसहित गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । पाँच वर्षका लागि जनमतबाट अस्वीकृत भए पनि चोरबाटोबाट राष्ट्रियसभा प्रवेश गरेको भन्दै श्रेष्ठको त्यतिबेला चर्को आलोचना भएको थियो ।
श्रेष्ठ अहिले नेकपाको शिर्ष तहका नेता हुन् । पार्टीले जारी गरेको निर्वाचन सम्बन्धी सर्कुलरमा समावेश मापदण्ड श्रेष्ठको हकमा पनि आकर्षित हुन्छ । सर्कुरमा उल्लेख गरिए अनुसार राष्ट्रिय सभा, प्रदेश सभा, स्थानीय तहका पदमा वहालवाला हुन नहुने मापदण्डले श्रेष्ठलाई आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधी सभा निर्वाचनमा उम्मेद्वारी दिन रोक लगाउँछ ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनको मनोनयन गर्ने समयमा पनि श्रेष्ठ राष्ट्रिय सभा सदस्यको रुपमा नै रहने छन् । प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ। सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम निर्वाचन आयोगले तय गरेको छ ।
पार्टीको नेतृत्व तहमा रहेका श्रेष्ठ, पार्टीले जारी गरेको सर्कुलर अनुसार राष्ट्रिय सभा सदस्य पदमा नै रहने छन् वा निर्वाचनकालागि राजीनामा दिदै पार्टीको निर्देशन उल्लंघन गर्छन्, त्यो आगामी राजनीतिक घटनाक्रमले देखाउने छ ।












