नाउप र नेकपा बिच पार्टी एकता
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच औपचारिक रूपमा एकता भएको छ। सोमबार दुई दलका शीर्ष नेताहरूले १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै एकीकृत राजनीतिक यात्राको घोषणा गरेका हुन्।
सहमतिपत्रमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल तथा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन्।
एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ नै कायम रहने र चुनाव चिह्न ‘तारा’ हुने सहमति भएको छ। दुवै दलबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू स्वतः एकीकृत पार्टीका सदस्य हुनेछन्। साथै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय समिति र जनवर्गीय संगठनहरू पनि नयाँ पार्टीमा समायोजन गरिनेछ।
एकीकृत पार्टीले संघीयता, सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूल राजनीतिक कार्यदिशा बनाउने घोषणा गरेको छ। समाजवादको दिशामा अघि बढ्ने लक्ष्यसहित सडक, सदन र सरकार तीनै तहबाट संघर्ष गर्ने प्रतिबद्धता नेताहरूले जनाएका छन्।













