आज १५ पुष: तमु ल्होसार मनाइँदै
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । आज १५ पुष । गुरुङ समुदायले आज पुरानो वर्षलाई विदा गर्दै नयाँ वर्षको स्वागतस्वरूप तमु ल्होसार पर्व मनाइरहेका छन्।
‘ल्हो’ अर्थात् वर्ष र ‘सार’ अर्थात् फेरिनु भन्ने अर्थ बोकेको तमु ल्होसार गुरुङ समुदायका लागि केवल चाड होइन, जीवनचक्रको नयाँ सुरुवात हो।
सूर्यको गतिसँग गहिरो सम्बन्ध रहेको यो पर्व विशेषगरी गुरुङ बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की र पर्वतलगायत जिल्लामा पुस महिनामै मनाइन्छ।
यी क्षेत्रमा सूर्यको ताप चाँडो पुग्ने विश्वासका कारण पुस १५ लाई विशेष दिनका रूपमा लिने चलन रहिआएको छ। जानकारहरूका अनुसार यही दिन वर्षकै सबैभन्दा लामो रात हुने भएकाले त्यसपछि उज्यालोतर्फ जीवन अघि बढ्ने धार्मिक–दार्शनिक मान्यता पनि जोडिएको छ।
तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। राजधानी काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । जहाँ गुरुङ समुदायका महिला–पुरुष परम्परागत भेषभूषामा सजिएर सांस्कृतिक झाँकी, नृत्य र मौलिक परिकारको प्रदर्शनीमा सहभागी हुने गरेका छन् ।












