बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन

User Image Prime TV News २ हप्ता अगाडि
Image of बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन

काठमाडौ । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टीकी अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ।

लामो समयदेखि गम्भीर स्वास्थ्य समस्याबाट ग्रसित जियाको उपचारकै क्रममा मृत्यु भएको हो। उनी पछिल्ला २० दिनदेखि भेन्टिलेटरमा थिइन्।

परिवार र पार्टी स्रोतले उनको निधनको पुष्टि गरेका छन्। जिया छातीको संक्रमण, कलेजो र मिर्गौला समस्या, मधुमेह, बाथ तथा आँखासम्बन्धी रोगबाट पीडित थिइन्।

खालिदा जिया सन् १९९१–१९९६ र २००१–२००६ सम्म दुई पटक बंगलादेशको प्रधानमन्त्री बनेकी थिइन्। उनी बंगलादेशको इतिहासमा पहिलो महिला प्रधानमन्त्री हुन्। उनी पूर्व राष्ट्रपति जियाउर रहमानकी पत्नी पनि हुन्। 

खालिदा जिया पछिल्ला वर्षहरूमा गम्भीर कानुनी विवादमा परेकी थिइन्। सन् २०१८ फेब्रुअरी ८ मा ढाकाको विशेष अदालतले जिया अनाथालय ट्रस्टको नाममा सरकारी रकम हिनामिना गरेको अभियोगमा उनलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो।