प्रतिनिधिसभा निर्वाचनः ६४ दलले मात्र बुझाए समानुपातिक बन्दसूची

User Image Prime TV News २ हप्ता अगाडि
Image of प्रतिनिधिसभा निर्वाचनः ६४ दलले मात्र बुझाए समानुपातिक बन्दसूची

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६४ वटा राजनीतिक दलले मात्र समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्।

आयोगमा दर्ता रहेका एक सय दलमध्ये बाँकी दलले तोकिएको समयसीमाभित्र सूची बुझाउन सकेनन्। निर्वाचन आयोगका अनुसार सोमबार र मंगलबार गरी जम्मा ६४ दलले बन्दसूची दर्ता गराएका हुन्। समानुपातिक प्रणालीतर्फ कुल ३ हजार ४२४ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।

यसपटक कतिपय दलहरू एकल चुनाव चिह्नमा चुनाव लड्दैछन् भने केही दलहरू संयुक्त चिह्न प्रयोग गर्दै मैदानमा उत्रिएका छन्। आयोगका अनुसार ६४ दलले ५८ वटा चुनाव चिह्न प्रयोग गर्नेछन्।

त्यसमध्ये ५४ दलले आफ्नै छुट्टाछुट्टै चुनाव चिह्न प्रयोग गर्नेछन् भने १० दल चारवटा साझा चुनाव चिह्नमार्फत निर्वाचनमा सहभागी हुँदैछन्।

निर्धारित समयभित्र बन्दसूची नबुझाएका दलहरू समानुपातिक निर्वाचन प्रक्रियाबाट स्वतः बाहिरिने छन्। आयोगले अब उम्मेदवार सूचीको जाँच, त्रुटि सच्याउने समय र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढाउने जनाएको छ।