तमु ल्होसार र म्हैप्रु नकुमा पर्वले राष्ट्रिय एकता बलियो बनाउँछ : प्रचण्ड
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु समुदायको पर्व तमु ल्होसार र दुरा समुदायको म्हैप्रु नकुमा पर्वले नेपाली समाजमा एकता, सहअस्तित्व र सांस्कृतिक चेतनालाई मजबुत बनाउने बताएका छन्।
मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरे। उनले यी पर्वहरूले नेपालको बहुसांस्कृतिक पहिचानलाई विश्वमाझ जीवन्त राख्ने महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
प्रचण्डले नेपाली समाजका मौलिक संस्कार र संस्कृतिहरू नै राष्ट्रिय पहिचानका आधारस्तम्भ भएको स्पष्ट शब्दमा बताए। विविधता नै हाम्रो शक्ति भएको उल्लेख गर्दै उनले यही विविधताले समाजलाई एकताबद्ध बनाएको धारणा राखे। परिवर्तनका प्रत्येक आन्दोलनमा बहुल समुदायको योगदान निर्णायक रहेको उनको भनाइ छ।
उनले बहुजाति, बहुभाषा र बहुसंस्कृतिको संगमस्थल नेपालमा सबै समुदायबीच समानता, सहअस्तित्व र समावेशिता सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताए। प्रभावकारी नीति कार्यान्वयनमार्फत मात्र राष्ट्रिय एकता मजबुत बन्ने भन्दै गणतन्त्रको संरक्षणभित्र रहेर संस्कृतिहरूको प्रवर्द्धन गर्नु आजको अनिवार्य आवश्यकता भएको उनले स्पष्ट पारे।













