कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझायो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, केही प्राविधिक समस्याका कारण सूची बुझाउन ढिलाइ भएको वताए । सोमबार दिउँसो पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सूची बुझाउन निर्वाचन आयोगमा पुग्दा, केही नामको हेरफेर र प्राविधिक समस्याले प्रक्रिया ढिला भएको थियो ।
पार्टीका सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिँदा, कांग्रेसलाई अन्तिम समयमा थप समस्या आएको थियो। आयोगको माग अनुसार देउवाको हस्ताक्षरलाई मान्यता दिनुपर्ने भएको थियो, जसका कारण मंगलबार बिहान मात्रै बन्दसूची निर्वाचन आयोगमा बुझाइएको हो।
प्रवक्ता महतले भने, “हामीले आयोगको दिएको समयसीमा भित्र शुल्क तिरेर भौचर काटिसकेका थियौं, तर केही प्राविधिक कारणले गर्दा हामीले बन्दसूची बुझाउन ढिलाइ गरेका हौँ। आज बिहान (मंगलबार) मात्र सूची बुझाएका छौँ।”
नेपाली कांग्रेसले समानुपातिक सूचीमा यस पटक ५ प्रतिशत भन्दा बढी जेनजीको प्रतिनिधित्व रहेको बताइएको छ। यससँगै, कांग्रेसले संस्थापनपक्षलाई ६० प्रतिशत र इतरपक्षलाई ४० प्रतिशतको भागबन्डा मिलाएर उम्मेदवार चयन गरेको कांग्रेसका नेताहरुको भनाई छ ।
कांग्रेसको समानुपातिक सूचीमा पार्टीका सहमहामन्त्री भीष्मराज आङदेम्बे समेटिएका छन् र प्रादेशिक जनसंख्याको आधारमा १ सय १० सिटको कोटा निर्धारण गरिएको छ। सूचीको आधारमा, कोसीबाट १८, मधेशबाट २१, बागमतीबाट २२, गण्डकीबाट ११, लुम्बिनीबाट १७, कर्णालीबाट १० र सुदूरपश्चिमबाट १० जना उम्मेदवार चयन भएका छन्।
निर्वाचन आयोगले यस पटक दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो। कडा निगरानी र समयसीमाको पालनामा आयोगले दलहरूलाई अनुगमन गरिरहेको छ। यस क्रममा केही दलहरूले निर्धारित समयभित्र उम्मेदवारको सूची बुझाउन ढिलाइ गरेका छन् भने अन्य दलहरूले समयमै सूची बुझाएका छन्।












