कुलमान घिसिङलाई उपसभापति बनाउने निर्णयप्रति एमाले महासचिव पोखरेलको प्रश्न
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीले कुलमान घिसिङलाई उपसभापति बनाउने निर्णयप्रति प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले वैकल्पिक राजनीतिक शक्तिको दाबी गर्ने दलले गैरदलीय चुनावी सरकारमा मन्त्री भइसकेका व्यक्तिलाई राजीनामा नदिई पार्टीको उपसभापति बनाउनु कति उचित हो भन्ने प्रश्न गरेका हुन्।
उनले लेखेका छन्, “वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिई उपसभापति बनाउनु कति उचित हो?”
सोमबार रास्वपाले कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो पार्टी नेपाल’ सँग एकता गर्ने सहमति गरेको थियो। उक्त सहमतिसँगै घिसिङलाई रास्वपाको उपसभापति बनाउने निर्णय गरिएको जनाइएको छ।
रास्वपाको उक्त निर्णयपछि राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आउन थालेका छन्। विशेषगरी दलको वैकल्पिक राजनीतिसम्बन्धी दाबी र व्यवहारबीचको अन्तरबारे बहस सुरु भएको देखिन्छ ।













