भेनेजुएलामा अमेरिकी सैन्य कारबाही, ड्रग्स तस्करी हुने बन्दरगाह ध्वस्त पारिएको ट्रम्पको दाबी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । अमेरिकाले भेनेजुएलामा ड्रग्स तस्करीसँग जोडिएको एक बन्दरगाहमा सैन्य आक्रमण गरेको दाबी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध कारोबार सञ्चालन हुँदै आएका क्षेत्रहरूलाई लक्षित गर्दै अमेरिकी सेनाले उक्त बन्दरगाह पूर्ण रूपमा ध्वस्त पारेको बताएका छन्।
यो कारबाही भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोको सरकारमाथि दबाब बढाउने अमेरिकी रणनीतिको हिस्सा भएको जनाइएको छ। ट्रम्पका अनुसार ड्रग्सले भरिएका डुंगाहरू तयारी तथा लोड गरिने उक्त बन्दरगाहलाई निशाना बनाउँदै अमेरिकाले पहिलोपटक भेनेजुएलाको भूमिमा प्रत्यक्ष कारबाही गरेको हो।
ट्रम्पले ड्रग्स तस्करी रोक्न अब केवल समुद्रमा रहेका डुंगाहरू मात्र नभई अवैध गतिविधि सञ्चालन हुने पूर्वाधार नै नष्ट गर्ने नीति अपनाइएको बताए। उनका अनुसार बन्दरगाह क्षेत्रमै ठूलो विस्फोट भएको छ। यसअघि अमेरिकी कारबाहीहरू मुख्यतया क्यारिबियन सागर र पूर्वी प्रशान्त महासागरका अन्तर्राष्ट्रिय जलक्षेत्रमा शंकास्पद ड्रग्स तस्करी डुंगाहरूलाई लक्षित गर्दै आएका थिए।
सेप्टेम्बरको सुरुआतदेखि हालसम्म भएका २९ आक्रमणमा कम्तीमा १०५ जनाको ज्यान गएको जनाइएको छ। यता, मादुरो सरकारको आम्दानीमा असर पार्ने उद्देश्यले अमेरिकाले भेनेजुएलाबाट आउने जाने तेल ट्यांकरहरूमा यसअघि नै नाकाबन्दी लगाइसकेको छ।













