चुनावअघि महाधिवेशन गर्दा पार्टीमा नकारात्मक असर पर्न सक्छः सभापति देउवा

User Image Prime TV News २ हप्ता अगाडि
Image of चुनावअघि महाधिवेशन गर्दा पार्टीमा नकारात्मक असर पर्न सक्छः सभापति देउवा

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनअघि पार्टीको महाधिवेशन आयोजना गर्दा आन्तरिक प्रतिस्पर्धाले चुनावी परिणाममा नकारात्मक असर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

मंगलबार केही पत्रकारहरूसँगको अनौपचारिक भेटघाटमा सभापति देउवाले आफूले यो विषयमा पार्टीका नेताहरूलाई सुझाव दिँदै आएको बताए। तर, महाधिवेशन अगाडि नै गर्ने निर्णय भए आफू बाधक नबन्ने उनको भनाइ थियो।

‘निर्वाचन अगाडि महाधिवेशन गर्दा पार्टीभित्र प्रतिस्पर्धा बढेर त्यसको असर चुनावमा पर्छ भन्ने मेरो बुझाइ हो,’ देउवाले भने, ‘तर पार्टीले गर्ने नै निर्णय गर्‍यो भने मैले रोक्ने कुरा हुँदैन।’ देउवाले आफू १५औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा नरहने स्पष्ट पारे।

विधानअनुसार आफू पुनः सभापतिको उम्मेदवार बन्न नमिल्ने र व्यक्तिगत रूपमा पनि इच्छा नभएकाले तटस्थ भूमिका रहने उनको भनाइ छ। उनले नयाँ नेतृत्वका आकांक्षीहरूलाई प्रोत्साहन गर्ने मात्र बताए।

सभापति देउवाले विशेष महाधिवेशनको सम्भावनालाई भने पूर्ण रूपमा अस्वीकार गरे। विशेष महाधिवेशन भए विधि र प्रक्रियामै विवाद उत्पन्न हुने भन्दै त्यसले पार्टीमा थप झगडा सिर्जना गर्ने उनको तर्क थियो।

‘विशेष महाधिवेशनमा गयो भने फेरि त्यसको प्रक्रिया के हुने भन्ने विवाद सुरु हुन्छ,’ देउवाले भने, ‘त्यसैले विशेष महाधिवेशन हुँदैन। नियमित महाधिवेशन आपसी समझदारीमै गर्न सकिन्छ।’