निर्वाचनको वातावरण देशभरि बन्दै गएको छः प्रधानमन्त्री कार्की
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको बताएकी छन् ।
तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्ले मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजना गरेको तमु ल्होसार महोत्सवमा प्रधानमन्त्री कार्कीले बिभिन्न परिस्थितिबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको बताइन् ।
त्यसको मुख्य आधार भनेको स्वच्छ र निष्पक्ष निर्वाचन नै भएको प्रधानमन्त्री कार्कीको भनाई थियो । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण देशभरि बन्दै गएको भन्दै प्रधानमन्त्री कार्कीले दलहरुका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस भएको धारणा राखिन् ।
निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोशेढुंगा पार गरेको भन्दै निर्वाचन प्रक्रियामा पनि उत्साहका साथ सवै पक्ष सामेल हुने विश्वास सरकारले लिएको बताइन् । प्रधानमन्त्री कार्कीले सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको समेत उल्लेख गरिन् ।













