देश संकटमा, कांग्रेस–एमालेको संयुक्त मोर्चा अपरिहार्य : बादल

User Image Prime TV News २ हप्ता अगाडि
Image of देश संकटमा, कांग्रेस–एमालेको संयुक्त मोर्चा अपरिहार्य : बादल

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मुलुक गम्भीर राजनीतिक संकटमा फसेको दाबी गर्दै त्यसको निकास कांग्रेस र एमालेको संयुक्त पहलबाट मात्र सम्भव हुने बताएका छन्। उनले आगामी निर्वाचनमा दुवै दलले बराबरी सिट बाँडफाँट गर्दै सहकार्यका साथ अघि बढ्न सक्ने धारणा राखेका छन् । 

मंगलबार मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले लोकतन्त्रको रक्षा र पुनःस्थापनाका लागि तत्काल रणनीतिक मोर्चाबन्दी आवश्यक रहेको बताए। “कांग्रेस र एमालेजस्ता ठूला लोकतन्त्रवादी शक्तिहरू एक ठाउँमा उभिए भने मात्रै प्रतिगमनकारी प्रवृत्तिलाई परास्त गर्न सकिन्छ,” उनले भने।

थापाले लोकतन्त्र पुनःस्थापनाका लागि स्पष्ट कार्यनीति तय गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए। उनका अनुसार संसद पुनःस्थापना वा निर्वाचन दुवै विकल्पमार्फत लोकतन्त्रलाई सही दिशामा लैजान सकिन्छ। “नयाँ संसद बनेर होस् वा विघटित संसद पुनःस्थापना गरेर, लोकतन्त्रवादी शक्तिको वर्चस्व कायम गरेर देशलाई अघि बढाउन सकिन्छ,” उनले भने।

उनले फागुन २१ सम्म विघटित संसद पुनःस्थापना हुन सक्ने सम्भावनाको चर्चा गर्दै सम्भावित निर्वाचन आफ्नो अनुकूल नदेखिए सत्ता पक्षले टार्न सक्ने आशंका पनि व्यक्त गरे। त्यसकारण लोकतन्त्रवादी शक्तिहरू एकताबद्ध भएर तयारीमा जुट्नुपर्ने उनको भनाइ थियो।

भदौ २३ र २४ गते देशमा प्रतिक्रान्ति भएको दाबी गर्दै उपाध्यक्ष थापाले त्यसपछिको राजनीतिक अवस्थाले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रलाई जोखिममा पारेको बताए।