आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

User Image Prime TV News २ हप्ता अगाडि
Image of आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

काठमाडौ । आज देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै छ। नेपाली कांग्रेस तथा यसका भ्रातृ र शुभेच्छुक संस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइरहेका छन्।

वि.सं. २०३३ साल पुस १६ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले राष्ट्रिय हितलाई सर्वोपरी ठानी निर्वासन त्यागेर स्वदेश फर्किएको दिनको स्मृतिमा यो दिवस मनाइन्छ। आठ वटा मृत्युदण्डसम्बन्धी मुद्दा खेपिरहेका अवस्थामा पनि राष्ट्र जोगाउने दृढ संकल्पसहित उनी स्वदेश फर्किएका थिए।

बीपी कोइरालासँगै गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताहरू पनि करिब आठ वर्षको निर्वासन अन्त्य गर्दै नेपाल फर्किका थिए। त्यस समय भारतमा सिक्किम विलय भइसकेको र क्षेत्रीय अस्थिरता बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै उनीहरूले राष्ट्रिय एकता अपरिहार्य ठानेका थिए।

२०१७ साल पुस १ गते राजा महेन्द्रले गरेको शाही ‘कु’ पछि बीपी कोइरालालाई सिंहदरबारमा नजरबन्द गरिएको थियो। त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएका उनलाई आठ वर्षपछि उपचारका लागि भारत जान अनुमति दिइयो। तर भारतमै रहँदा पनि उनले पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक संघर्ष जारी राखे।

स्वदेश फर्किएलगत्तै उनी पुनः पक्राउ परे र सुन्दरीजल तथा महाराजगञ्जस्थित बन्दीगृहमा राखिए। पछि २०३४ साल जेठ २७ गते पुनः उपचारका लागि रिहा गरिएको थियो। हाल सुन्दरीजलको सो बन्दीगृह २०६१ सालदेखि बीपी सङ्ग्रहालयका रूपमा सञ्चालनमा छ ।