राष्ट्रिय एकता कमजोर भए देश नै जोखिममा पर्छ: शेखर कोइराला

User Image Prime TV News २ हप्ता अगाडि
Image of राष्ट्रिय एकता कमजोर भए देश नै जोखिममा पर्छ: शेखर कोइराला

काठमाडौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रिय एकता र मेलमिलाप कमजोर हुँदै गए मुलुकको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रता नै संकटमा पर्ने चेतावनी दिएका छन्।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले वर्तमान राजनीतिक अवस्था गम्भीर मोडमा पुगेको बताएका हुन्।

कोइरालाले लोकतान्त्रिक आन्दोलनका अगुवा नेता बिपी कोइराला र गणेशमान सिंहले आजकै दिन राष्ट्रिय मेलमिलापको सन्देश दिँदै आठ वर्षको निर्वासन त्यागेर स्वदेश फर्किएको स्मरण गराएका छन्।

त्यतिबेला विश्व शक्तिहरूको टकरावबीच नेपालजस्तो सानो र संवेदनशील देशलाई जोगाउन राष्ट्रिय एकता नै एकमात्र उपाय रहेको बिपीको स्पष्ट दृष्टिकोण रहेको उनले उल्लेख गरेका छन्।

उनका अनुसार आज पनि अवस्था फरक छैन। विश्व राजनीतिमा शक्तिराष्ट्रहरूको दबाब र स्वार्थ फेरि सतहमा आएको भन्दै उनले यस्तो अवस्थामा बिपीका विचारलाई व्यवहारमै उतार्न नसके देश गम्भीर संकटमा फस्ने चेतावनी दिएका छन्। “पाँच दशकपछि पनि हामी उही खतराको वरिपरि घुमिरहेका छौँ,” उनले सन्देशमा भनेका छन्।

कोइरालाले राष्ट्रिय मेलमिलापलाई कुनै एक दलको मुद्दा मात्र ठान्नु गलत हुने स्पष्ट पारेका छन्। उनका अनुसार यो सम्पूर्ण नेपालीको साझा दायित्व हो। सत्ता स्वार्थभन्दा माथि उठेर राष्ट्रको हितमा एकजुट नहुने हो भने भविष्य झनै अस्थिर बन्ने उनले बताए ।