उपाध्यक्ष थापालाई गोकुल बास्कोटाको कटाक्ष : समानुपातिक छोडेर प्रत्यक्ष चुनाव लड्नुस्

User Image Prime TV News २ हप्ता अगाडि
Image of उपाध्यक्ष थापालाई गोकुल बास्कोटाको कटाक्ष : समानुपातिक छोडेर प्रत्यक्ष चुनाव लड्नुस्

काठमाडौ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई प्रत्यक्ष निर्वाचन लड्न खुला चुनौती दिएका छन्।

समानुपातिक प्रणालीको विरोध गर्ने नेताहरू आफैँ पटक–पटक त्यही सूचीमा अड्किनु लज्जास्पद भएको उनको टिप्पणी छ। बास्कोटाले बादलको नाम नलिइ संकेत गर्दै भने, “समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेताहरू नै पटक–पटक बसेपछि यो प्रणालीको विरोध हुनु स्वाभाविक हो। अझ रुख–सूर्य मिलेर चुनाव लड्नुपर्छ भन्नेहरू नै फेरि समानुपातिकमा बस्छन्। रुख–सूर्य मिलेपछि चुनाव लडे भइहाल्यो नि। अहिले नाम फिर्ता लिए हुन्छ।”

उनले समानुपातिक प्रणालीको दुरुपयोग भइरहेको आरोप लगाउँदै यसले समावेशीताको मर्ममाथि प्रहार गरेको बताए। “समावेशीताको नाममा बारम्बार उही अनुहार दोहोरिनु बेइज्जती हो, त्यो पनि पुरुषले,” भन्दै उनले तीखो व्यङ्ग्य गरे।

यसअघि बादलले आगामी निर्वाचनमा एमाले र नेपाली कांग्रेसबीच मोर्चाबन्दी गरेर चुनाव लड्नुपर्ने धारणा सार्वजनिक गरेका थिए। त्यसकै पृष्ठभूमिमा बास्कोटाको प्रतिक्रिया आएको हो। एमालेले बादललाई समानुपातिक सूचीमा राखिसकेको छ।