तोकिएकै समयमा निर्वाचन हुने गृहमन्त्रीको दाबी
Prime TV News २ हप्ता अगाडि 
विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन हुने स्पष्ट पार्दै त्यसको तयारी सरकारका तर्फबाट सुरु भइसकेको बताएका छन्।
कोशी प्रदेशको राजधानी विराटनगरमा मंगलबार प्रादेशिक सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले निर्वाचनलाई भयरहित, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए। “तोकिएकै समयमा निर्वाचन हुन्छ, सरकारले त्यसैअनुसार तयारी गरिरहेको छ,” उनले भने। साथै, राजनीतिक दलहरू पनि आ–आफ्नो तयारीमा लागिसकेको उनको भनाइ छ।
गोष्ठीमा गृह मन्त्रालयका उच्च अधिकारीहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी छन्। यसका साथै कोशी प्रदेशका १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरूको समेत उपस्थिति रहेको छ।
गोष्ठीका क्रममा जिल्लागत सुरक्षा प्रमुखहरूले आफ्नो–आफ्नो क्षेत्रको सुरक्षा अवस्था, विद्यमान चुनौती, सीमा क्षेत्रको संवेदनशीलता र निर्वाचनका समयमा देखिन सक्ने सम्भावित जोखिमबारे विस्तृत ब्रिफिङ प्रस्तुत गर्ने जनाइएको छ। मुख्य रूपमा निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउने विषयमा छलफल केन्द्रित रहेको छ।
यसैबीच, विराटनगर पुगेका गृहमन्त्री अर्यालले ‘जेनजी आन्दोलन’को आवरणमा आगजनी गरिएको मोरङ जिल्ला प्रशासन कार्यालय र विराटनगरस्थित आईसीपीको स्थलगत निरीक्षण गरेका छन्। उनले घटनाबारे सुरक्षा निकायका अधिकारीहरूसँग जानकारी लिँदै आवश्यक निर्देशन दिएका छन्।













