नेपाली कांग्रेस विशेष महाधिवेशनतर्फ अघि बढ्दै, पुस मसान्तभित्र आह्वानको तयारी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले विशेष महाधिवेशन आह्वान गर्ने तयारीलाई तीव्र बनाएको छ।
पार्टीका महामन्त्री गगनकुमार थापाले मेलमिलाप दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रप्रति दायित्व निर्वाह गर्न सक्षम कांग्रेस निर्माण गर्न विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन्।
थापाका अनुसार वर्तमान राजनीतिक चुनौती र जनअपेक्षालाई सम्बोधन गर्न पार्टीलाई संगठनात्मक र वैचारिक रूपमा सुदृढ बनाउनु आवश्यक छ। यही जिम्मेवारी पूरा गर्न पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा पार्टी अघि बढिसकेको उनले स्पष्ट पारे।
उनले कांग्रेस कार्यकर्तालाई पार्टीभित्र एकता कायम गर्दै सुधारको एजेन्डामा दृढतापूर्वक साथ दिन आह्वान गरेका छन्। “राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु आजका लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगीन जिम्मेवारी हो,” थापाले भनेका छन्।
विशेष महाधिवेशनमार्फत संगठन सुदृढीकरण, नेतृत्वको भूमिकाबारे समीक्षा र आगामी राजनीतिक रणनीतिबारे व्यापक छलफल हुने थापको बुझाई छ ।












