अमेरिकी यात्रा प्रतिबन्धपछि कूटनीतिक तनाव, माली र बुर्किना फासोले अमेरिकी नागरिकलाई प्रवेश निषेध
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विभिन्न देशका नागरिकमाथि अमेरिका प्रवेशमा रोक लगाएपछि त्यसको असर अन्तर्राष्ट्रिय कूटनीतिमा देखिन थालेको छ। पश्चिम अफ्रिकी मुलुक माली र बुर्किना फासोले अमेरिकी निर्णयको प्रत्यक्ष जवाफ दिँदै अमेरिकी नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।
बेलायती सञ्चारमाध्यम गार्डियनका अनुसार, दुवै देशका विदेशमन्त्रीले मंगलबार अलग–अलग विज्ञप्ति जारी गर्दै पारस्परिकताको आधारमा यस्तो कदम चालिएको बताएका हुन्। मालीको विदेश मन्त्रालयले अमेरिकी सरकारले माली नागरिकमाथि लगाएको प्रतिबन्धकै सर्त अमेरिकी नागरिकमाथि पनि लागू गरिने स्पष्ट पारेको छ।
बुर्किना फासोका विदेशमन्त्री करामोको जिन मारी ट्राओरेले हस्ताक्षर गरेको विज्ञप्तिमा पनि अमेरिकी नागरिकलाई प्रवेश नदिने निर्णय औपचारिक रूपमा घोषणा गरिएको छ। गत डिसेम्बर १६ मा ट्रम्प प्रशासनले अघिल्लो यात्रा प्रतिबन्धलाई विस्तार गर्दै माली, बुर्किना फासो र नाइजरसहित २० देशलाई नयाँ सूचीमा समावेश गरेको थियो।
यी देशहरू हाल सैन्य शासनमा छन् र पश्चिम अफ्रिकी राष्ट्रहरूको आर्थिक समुदाय (इकोवास) बाट अलग भई छुट्टै क्षेत्रीय गठबन्धन बनाएका छन्। ह्वाइट हाउसले ती देशहरूमा सुरक्षा अवस्था कमजोर रहेको, सशस्त्र समूहका आक्रमण निरन्तर भइरहेका र यात्रुहरूको जोखिम मूल्यांकनका लागि पर्याप्त जानकारी नपाइएको भन्दै प्रतिबन्ध आवश्यक भएको दाबी गरेको छ।













