त्रिभुवन विमानस्थलको सेवाप्रति मन्त्री सिन्हा असन्तुष्ट, दुई महिनाभित्र सुधार देखाउन निर्देशन

User Image Prime TV News २ हप्ता अगाडि
Image of त्रिभुवन विमानस्थलको सेवाप्रति मन्त्री सिन्हा असन्तुष्ट, दुई महिनाभित्र सुधार देखाउन निर्देशन

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा र यात्रु अनुभवप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। विमानस्थलबाट हालै गरेको यात्रामा आफूले सुखद अनुभव नपाएको बताउँदै उनले दुई महिनाभित्र सबैले महसुस गर्ने गरी सुधार देखाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएका छन्।

बुधबार क्यानको २७ औँ वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै मन्त्री सिन्हाले विमानस्थलमा बाहिरी रूपमा केही सुधार देखिए पनि सामान्य यात्रु र पर्यटकको हैसियतले सेवा प्रभावकारी नभएको टिप्पणी गरे। “कस्मेटिक सुधार भए होलान्, तर यात्रुका रूपमा अनुभव अझै पनि असहज छ,” उनले भने।

मन्त्री सिन्हाले आफूले प्रत्यक्ष रूपमा भोगेका असहजताले ससाना तर महत्त्वपूर्ण विषयमा ध्यान नपुगेको देखाएको उल्लेख गरे। उनले विमानस्थलको समग्र व्यवस्थापन र हवाई सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दै बहाना नगरी नतिजामुखी काम गर्न निर्देशन दिए।

आफूसँग मन्त्रीका रूपमा सीमित समय बाँकी रहेको उल्लेख गर्दै सिन्हाले आगामी दुई महिनालाई निर्णायक समयको रूपमा लिएर काम गर्न क्यान नेतृत्वलाई चुनौती दिए। “दुई महिनामा एभिएसन सेफ्टी र सेवा सुधारमा के गरेर देखाउन सक्नुहुन्छ, त्यसको परिणाम देखिनुपर्छ,” उनले भने।

उनले निर्वाचनपछि आउने नयाँ सरकारका लागि ठोस आधार तयार पार्ने गरी काम थाल्न समेत आग्रह गरे। साथै, क्यानको लेखा व्यवस्थापन, सम्पत्ति सुरक्षा र अन्तर्राष्ट्रिय उडानसम्बन्धी विषयमा पनि असन्तुष्टि जनाए।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्भावना खोज्न सक्रियता देखाउन निर्देशन दिँदै मन्त्री सिन्हाले ती विमानस्थलमा भएको लगानीले राजस्व उठाउन सक्ने अवस्था सिर्जना गर्नु नै प्राधिकरणको सफलताको मुख्य मापदण्ड हुने बताए।