मधेस प्रदेश सरकारले आज पूर्णता पाउँदै, ६ मन्त्री थपिँदै
Prime TV News २ हप्ता अगाडि 
जनकपुर । मधेस प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले ६ जना नयाँ मन्त्री थपेर आफ्नो मन्त्रिपरिषदलाई पूर्ण बनाउने तयारी गरेका छन्।
आजको विस्तारमा जसपा, कांग्रेस, जनमत र माओवादी केन्द्रबाट मन्त्रीहरू थपिने छन्। जसपाबाट राजकुमार गुप्ता भौतिक पूर्वाधार तथा मनिष सुमन श्रम तथा यातायातमन्त्री बन्ने पक्का भएको छ।
कांग्रेसबाट श्याम पटेल कृषि मन्त्री र शंकर चौधरी वन मन्त्री बन्ने तय भएको छ। जनमतबाट वसन्त कुशवाहा युवा तथा खेलकूद मन्त्री र माओवादी केन्द्रबाट फकिरा महतो गृह मन्त्रालय सम्हाल्ने भएका छन्।
गत मंसिर १९ गते ७ दलीय गठबन्धनको समर्थनमा यादव मुख्यमन्त्री नियुक्त भएका थिए। उनी कांग्रेससहित जसपा, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन्।
हाल मधेस प्रदेशमा माओवादी केन्द्रबाट जवाहरलाल कुशवाह ऊर्जा मन्त्री, लोसपाबाट रानी कुमारी तिवारी शिक्षा तथा संस्कृति मन्त्री, कांग्रेसका जंगीलाल राय स्वास्थ्य मन्त्री, एकीकृत समाजवादीका कनिष पटेल उद्योग मन्त्री र जनमतका महेश यादव अर्थ मन्त्री रहेका छन्।
आजको मन्त्री विस्तारपछि प्रदेश सरकारमा मन्त्रीहरूको संख्या ११ पुगेको छ।













