रास्वपामा समानुपातिक सूची विवाद, प्राइमरी भोटिङ बेवास्ता भएकोमा नेताहरू असन्तुष्ट

User Image Prime TV News २ हप्ता अगाडि
Image of रास्वपामा समानुपातिक सूची विवाद, प्राइमरी भोटिङ बेवास्ता भएकोमा नेताहरू असन्तुष्ट

काठमाडौ । राष्ट्रिय स्वतन्त्रता पार्टी भित्र प्राइमरी इलेक्सनको नतिजा समानुपातिक उम्मेदवार सूचीमा पूर्ण रूपमा लागू नहुँदा पार्टीका कतिपय नेताहरू असन्तुष्ट देखिएका छन्।

गत कात्तिकमा चितवनमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले उम्मेदवार छनोटका लागि पाँच बुँदे मापदण्ड तय गरेको थियो। त्यसअनुसार फाराम भरेका ४१४ आकांक्षीमध्ये ३८७ जनाबीच मतदान भएको थियो। तर निर्वाचन आयोगमा बन्दसूची पेश गर्दा प्राइमरी इलेक्सनमा प्राप्त मत भारलाई बेवास्ता गरिएको नेताहरूले बताएका छन्।

नेतृ डा. तोसिमा कार्कीले फेसबुकमा लेख्दै, “प्राइमरी भोटिङको धज्जी उडाएर अग्रपंक्तिमा नाम सुरक्षित गरिनु पुराना दलभन्दा फरक छैन” भनेर आलोचना गरेकी छन्। प्राइमरी भोटिङमा खसआर्य पुरुषतर्फ सबैभन्दा बढी मत प्राप्त रमेश प्रसाईंको नाम सूचीमा पाँचौं नम्बरमा राखिएको छ भने सहमहामन्त्री विपिन आचार्य पहिलो नम्बरमा छन्।

समानुपातिक सूचीमा अन्य नेताहरू पनि प्राइमरी भोटिङमा पाएको मतअनुसार उच्च स्थानमा नपरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाले त्रुटि सच्याउन आग्रह गरेकी छिन् भने क्रान्तिशिखा धितालले पार्टी एकता र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छिन्।

नेता भावना राउतले सामाजिक सञ्जालमा चेतावनी दिँदै लेखेकी छिन्, “समानुपातिक सूची सच्याइएन भने प्रत्यक्षमा भोट हालिन्छ, तर कुनै पनि पार्टीलाई अन्धाधुन्ध समर्थन हुँदैन। म अन्धभक्त बन्न सक्दिनँ।”

पार्टीले उम्मेदवार छनोटमा पारदर्शिता, योग्यता, आचरण र आम्दानी स्रोतको स्वघोषणा अनिवार्य गरेको छ। प्राइमरी इलेक्सनको मतलाई ५० प्रतिशत भाराङ्क दिइएको छ भने बाँकी ५० प्रतिशत अन्य मापदण्डअनुसार सूची तयार गरिएको छ। जातीय क्लस्टर, प्रादेशिक अनुपात, युवा प्रतिनिधित्व र प्रवासी नेपालीका लागि समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने खाका पनि बनाइएको छ।