मुद्दा चलाएर व्यक्तिलाई दुख दिनु लोकतन्त्र होइनः रवि लामिछाने

User Image Prime TV News २ हप्ता अगाडि
Image of मुद्दा चलाएर व्यक्तिलाई दुख दिनु लोकतन्त्र होइनः रवि लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जताततै मुद्दा हाल्ने र व्यक्तिलाई दुःख दिने काम लोकतान्त्रिक मूल्यसँग मेल नखाने बताएका छन्। बुधबार पोखरामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले आफूविरुद्ध पूर्ववर्ती सरकारले प्रतिशोध स्वरूप मुद्दा हालेको जिकिर गरे।

लामिछाने बुधबार सहकारी ठगी सम्बन्धी मुद्दामा तारिख बुझ्न पोखरा पुगेका थिए। उनले भने, “जताततै मुद्दा हाल्ने, कतै पनि झुन्ड्याउने यस्ता कुरा लोकतन्त्रले गर्दैन। यो लोकतन्त्रले गरेको होइन।”

सभापति लामिछानेले आफ्नो पार्टीको सामर्थ्य पुगेपछि पहिलो प्राथमिकता संविधानभित्र रहँदै सुशासन कायम गर्नु हुने बताए। उनले हाल राज्यका विभिन्न निकायहरूलाई पार्टीको भर्ती केन्द्र बनाइएको र सुशासन कमजोर भएको बताए। “हाम्रो सामर्थ्य पुगेपछि पहिलो प्राथमिकता अवस्था परिवर्तन गर्नु हो,” उनले भने।

संविधान संशोधन र शासकीय स्वरूपबारे उनले ‘नेक्स्ट स्टेप’ मा व्यापक संवाद आवश्यक रहेको औँल्याए। संविधानका कमी कमजोरीहरू सुधार गर्न सकिने भए पनि अहिले मुख्य जोड नागरिकको अवस्था सुधारमा रहेको उनले स्पष्ट पारे।