कुलमान घिसिङले समानुपातिक उम्मेदवार सूचीमा आफ्ना भान्जा ससुरा नभएको स्पष्टीकरण
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । उज्यालो नेपाल पार्टीका संयोजक कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी सँगको पार्टी एकतापछि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक उम्मेदवारको सूचीमा आफ्ना भान्जा वा ससुरा समावेश नभएको स्पष्ट पारेका छन्।
उनीहरूलाई आफूसँग जोडेर फैलिएको समाचार र सामाजिक सञ्जालमा आएका भ्रामक प्रचारप्रति बुधबार घिसिङले खण्डन गर्दै भने, “समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन्। त्यसैगरी ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो ससुरा होइनन्।”
कुलमान घिसिङले स्पष्ट पारे कि समानुपातिक उम्मेदवार सूची पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार पारिएको हो। प्राविधिक त्रुटि देखिएमा निर्वाचन आयोगले तोकेको समयभित्र सच्याइने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
अन्त्यमा घिसिङले भने, “म पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा दृढ छु। यसैले यस्ता भ्रामक समाचार र टिकाटिप्पणीको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु।”
यस्तो छ उनको पूरा भनाइ :
प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएका केही उम्मेदवारलाई मसँग जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइँदै आएका असत्य, भ्रामक र नियोजित टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन्। त्यसैगरी समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु।
समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा होइन, पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको हो। म सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको छु। त्यही इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइने यस्ता नियोजित हल्ला र आरोपहरू दुःखद छन्।
राजनीतिमा असहमति हुन सक्छ, तर झुट र भ्रम फैलाएर कसैको बदनाम गराउने प्रयास आपत्तिजनक छ। साथै बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइने प्रतिबद्धता समेत व्यक्त गर्दछु। म आज पनि पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा दृढ छु। त्यसैले यस्ता भ्रामक समाचार र टिकाटिप्पणीको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु।













