काठमाडौंमा राप्रपा र राप्रपा नेपाल एकीकृत, राजेन्द्र लिङ्देन अध्यक्षमा कायम

User Image Prime TV News २ हप्ता अगाडि
Image of काठमाडौंमा राप्रपा र राप्रपा नेपाल एकीकृत, राजेन्द्र लिङ्देन अध्यक्षमा कायम

काठमाडौ । समान विचारधारा भएका दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल बीच बुधबार राजधानीमा आयोजित समारोहमा औपचारिक रूपमा एकीकरण भएको छ।

छ बुँदे समझदारी पत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा ले हस्ताक्षर गरी पार्टी एकता घोषणा गरेका हुन्। एकीकृत पार्टीको नाम “राप्रपा” नै रहनेछ। पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन रहने सहमति भएको छ भने पार्टीको विधान, झण्डा र चुनाव चिन्ह पुरानो राप्रपाको हलो कायम रहनेछ।

एकीकृत पार्टीको वैचारिक दर्शनमा राप्रपा २०७८ को महाधिवेशनबाट पारित ‘सम्बर्धनवाद’ आधार हुनेछ। यसअन्तर्गत सबै धर्ममा समानता, धार्मिक स्वतन्त्रता, सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य, राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति समावेश छ।

संगठन समायोजनमा पनि सहमति भएको छ। राप्रपा २०७८ को महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई पदमा कायम राखिनेछ। राप्रपा नेपालका पदाधिकारी तथा सदस्यहरूलाई केन्द्रीय कार्यसमितिमा समावेश गरिनेछ भने जिल्ला, स्थानीय तह र भातृ संगठनका संरचनाहरू सम्मानपूर्वक समायोजन गरिनेछ।

एकीकृत पार्टीमा राप्रपा नेपालका अध्यक्ष कमल थापाको भूमिकाबारे सहमति पत्रमा स्पष्ट उल्लेख गरिएको छैन।