राप्रपाका एजेन्डा लोकप्रिय बन्दै गएका छन् : अध्यक्ष लिङ्देन
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले अघि सारेका एजेन्डाहरू देशभर लोकप्रिय बन्दै गएको दाबी गरेका छन्। बुधबार राप्रपा नेपालसँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले बढ्दो राजनीतिक र सामाजिक चुनौतीका बीच राप्रपाका विचारप्रति जनआकर्षण बढेको बताए।
अध्यक्ष लिङ्देनले एजेन्डाको लोकप्रियतासँगै पार्टीको संगठनात्मक स्वीकार्यता पनि विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए। विचारसँग सहमत नागरिकहरूलाई पार्टीभित्र समेट्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो। राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा निरन्तर उठाउँदै आएको छ।
उनले देशलाई स्थायित्वतर्फ लैजान सबै राजनीतिक शक्तिबीच राष्ट्रिय सहमति र मेलमिलाप आवश्यक रहेको उल्लेख गरे। निषेधको राजनीति नगर्न आग्रह गर्दै कांग्रेसले बीपी कोइरालाको विचारलाई साँच्चै आत्मसात् गर्ने हो भने मेलमिलापको प्रक्रियामा अगुवाइ गर्नुपर्ने लिङ्देनको भनाइ थियो।
भदौमा भएको आन्दोलन अझै पूर्ण रूपमा समाप्त नभएको बताउँदै अध्यक्ष लिङ्देनले आगामी दिनमा अझ ठूला आन्दोलनहरू हुन सक्ने संकेत गरे। साथै निर्वाचन आयोगले कालोसूची भन्दै नाम सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै आयोगकै गतिविधिले निर्वाचन प्रक्रिया प्रभावित हुन लागेको त होइन भन्ने प्रश्न पनि उठाए।












