अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

User Image Prime TV News २ हप्ता अगाडि
Image of अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् २०२६ सुरु भएको छ।

येशु ख्रिस्टको जन्म वर्षलाई आधार मानेर तयार पारिएको यो पात्रो पादरी ग्रेगोरियनले प्रचलनमा ल्याएका कारण यसलाई ग्रेगोरियन पात्रो भनिन्छ।

नयाँ वर्षको अवसरमा यो पात्रो मान्नेहरूले एक आपसमा शुभकामना आदानप्रदान गर्दै उत्सव मनाइरहेका छन्। इस्वी संवत् सौरमासको आधारमा निर्माण गरिएको पात्रो हो।

यसै कारण कतिपय विद्वानहरूले यसलाई पूर्ण रूपमा वैज्ञानिक नभएको तर्क गर्दै आएका छन्। संवत् र पात्रोको अध्ययनमा संलग्न डा. शास्त्रदत्त पन्तका अनुसार सौरमास र चन्द्रमासको समन्वयमा आधारित विक्रम संवत् तुलनात्मक रूपमा वैज्ञानिक भए पनि इस्वी संवत् अहिले विश्वव्यापी रूपमा प्रयोगमा आएको छ।

उनका अनुसार एक वर्ष ३६५ दिन ६ घण्टा ४९ मिनेट र केही सेकेन्डको हुने भए पनि दैनिक प्रयोगमा ती साना एकाइलाई समेट्न कठिन हुने भएकाले पात्रो व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। 

पछिल्ला वर्षहरूमा नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष मनाउने संस्कार तीव्र रूपमा बढेको छ। विशेषगरी विदेशी पर्यटकको चहलपहल बढी हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा लगायतका क्षेत्रमा सांस्कृतिक कार्यक्रम, सांगीतिक प्रस्तुति र विविध मनोरञ्जनात्मक गतिविधि आयोजना गरी नयाँ वर्ष २०२६ लाई स्वागत गरिएको छ।