प्रचण्डको नयाँ वर्ष सन्देश: अग्रगामी शक्तिहरूबीच आपसी समझदारी र राष्ट्रिय एकता अपरिहार्य
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवार ढङ्गले परिवर्तनको पक्षमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।
अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले देश र जनताप्रतिको जिम्मेवारीबाट भाग्न नसकिने स्पष्ट पारेका छन्।
उनले पार्टीले आफ्ना सबल र दुर्बल पक्षको समीक्षा गर्दै आत्मसुधारको बाटो समातेको दाबी गरे। यथास्थितिमा रमाउने प्रवृत्ति र परिवर्तनको चाहनाबीचको द्वन्द्व अझै जारी रहेको भन्दै अब जिम्मेवार निर्णय र व्यवहारमार्फत अगाडि बढ्नुपर्ने बेला आएको उनको भनाइ छ।
प्रचण्डले २०२६ साल सबै नेपालीका लागि राजनीतिक स्थिरता, शान्ति, समृद्धि र सफलताको वर्ष बनोस् भन्ने कामना पनि व्यक्त गरेका छन्। नयाँ वर्षले नयाँ आशा, ऊर्जा र संकल्प बोकेको उल्लेख गर्दै उनले देशलाई सही दिशामा लैजान सामूहिक प्रयास आवश्यक रहेको बताए।
उनले सन् २०२५ मा देखिएको जेनजी युवापुस्ताको आन्दोलनलाई राजनीतिक परिवर्तनको नयाँ संकेतका रूपमा व्याख्या गरे। उक्त आन्दोलनले पुराना संरचना, कार्यशैली र सोचमा गहिरो सुधार आवश्यक रहेको स्पष्ट पारेको भन्दै संविधान निर्माणका क्रममा उठाइएका कतिपय एजेन्डाहरू समयसँगै सही सावित भएको दाबी गरे।
प्रचण्डले वर्तमान राजनीतिक अवस्था तरल रहेको भन्दै अग्रगामी शक्तिहरूबीच आपसी समझदारी र राष्ट्रिय एकता अपरिहार्य भएको बताए। राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु आजको सबैभन्दा ठूलो जिम्मेवारी भएको उनको भनाइ छ ।













