सरकार र नागरिक बचाउ अभियानबीच वार्ता, निर्वाचनलाई केन्द्रमा राखेर छलफल
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीसहित सरकार र दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ अभियानबीच बिहीबार सिंहदरबारमा वार्ता हुने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १ बजे बस्ने वार्तामा दुवै पक्षबीच समसामयिक राजनीतिक विषय र आगामी निर्वाचनका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
सरकार पक्षबाट प्रधानमन्त्री कार्की स्वयं वार्तामा सहभागी हुने बताइएको छ। यसअघि सरकारद्वारा गठन गरिएको वार्ता समितिसँग पुस १ गते प्रसाई समूहले छलफल गरेको थियो भने पुस १५ गते प्रधानमन्त्री र प्रसाईबीच औपचारिक भेटवार्ता भइसकेको छ ।
मुलुकमा शान्ति, अमनचयन र राजनीतिक स्थायित्व कायम राख्दै निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्ने विषयमा वार्ताको केन्द्रबिन्दु रहने बताइएको छ । प्रधानमन्त्री कार्कीले यसअघि पनि निर्वाचन नै दिगो लोकतन्त्र स्थापना गर्ने मुख्य आधार भएको भन्दै सबै पक्षको सहयोग आवश्यक रहेको धारणा राख्दै आएकी छन्।
सरकारले विभिन्न आन्दोलनरत तथा असन्तुष्ट समूहसँग संवादमार्फत सहमति खोज्ने नीति लिएको छ ।













