प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र, ४० संस्थाले पायो पर्यवेक्षण अनुमति
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तयारी तीव्र बनाएको छ। सो निर्वाचनलाई पर्यवेक्षण गर्न ४ विदेशीसहित कुल ४० संस्थाले अनुमति पाएका छन्।
निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार राष्ट्रियतर्फ ३६ वटा र अन्तर्राष्ट्रिय तर्फ चार वटा संस्थालाई निर्वाचन पर्यवेक्षणको स्वीकृति दिइएको हो। बुधबार मात्रै आयोगले थप नौवटा संस्थालाई अनुमति दिने निर्णय गरेपछि पर्यवेक्षक संस्थाको संख्या ४० पुगेको छ।
हालै अनुमति पाउने संस्थाहरूमा गरिब तथा दलित उत्थान सेवा समिति डोल्पा, जनसरोकार मञ्च नेपाल, दिगो ग्रामीण विकास केन्द्र, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, मस्वसित नेपाल, नेपाल जनप्रशासन संघ र नेपाल कानून समाज रहेका छन्।
आयोगले अनुमति प्राप्त राष्ट्रिय संस्थालाई अभिमुखीकरण प्रदान गरी उनीहरूबाट खटाइने पर्यवेक्षकहरूलाई परिचयपत्र वितरण गर्ने जनाएको छ। यसैबीच निर्वाचन तालिकाअनुसार समानुपातिक तर्फको बन्दसूची बुझाउने प्रक्रिया पूरा भइसकेको छ। आयोगले हाल बन्दसूचीको छानबिन गरिरहेको छ र आवश्यक परे कलस्टर मिलाउन राजनीतिक दलहरूलाई पत्राचार गरिनेछ। दलहरूले पुस २७ गतेसम्म बन्दसूची संशोधन गर्न सक्नेछन्।
उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिन पुस २८ गते समय पाउनेछन् भने फिर्ता भएको विवरण पुस २९ गते सम्बन्धित दललाई जानकारी गराइनेछ। रिक्त स्थानमा नयाँ उम्मेदवारको नाम पुस ३० गतेसम्म पेश गर्नुपर्ने आयोगले जनाएको छ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ४ गते उम्मेदवारको बन्दसूची प्रकाशन हुनेछ। त्यसपछि माघ ५ देखि १० गतेसम्म उम्मेदवारको योग्यतासम्बन्धी दाबी–विरोध दर्ता गर्न सकिनेछ। आयोगले माघ ११ देखि १७ गतेसम्म ती निवेदनमाथि निर्णय गर्नेछ।
अन्तिम बन्दसूची माघ २० गते प्रकाशन हुने छ। प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म देशभरका मतदान केन्द्रमा हुने आयोगले जनाएको छ।













