रसुवागढी नाका आज देखि पुनः पूर्ण रूपमा सञ्चालनमा

User Image Prime TV News १ हप्ता अगाडि
Image of रसुवागढी नाका आज देखि पुनः पूर्ण रूपमा सञ्चालनमा

रसुवा । रसुवागढी नाका आज देखि पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ ।

गएको असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको नाका बिहीबार बिहानदेखि सञ्चालनमा ल्याइएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए ।

चीन सरकारले ९१ मिटर लम्बाइको बेलीब्रिज निर्माण गरेपश्चात् सवारीसाधन सञ्चालनमा ल्याइएको उनले बताए । उक्त पुलको भारवहन क्षमता ५५ टनबराबर रहेको उनले जानकारी दिए । नाका खुलाइएपश्चात् चिनियाँ सामान आयातका निम्ति आठ नेपाली कन्टेनर मितेरी पुल पार गरी केरुङतर्फ प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ ।

सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले केही सवारीसाधन त्यसतर्फ जान तयारी अवस्थामा रहेको बताए । सामान आयातको करबाट संकलन हुने राजस्व गत वर्षको तुलनामा यसपालि हालसम्म २२ अर्ब रुपैयाँभन्दा बढी नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।

स्याफ्रुबेँसी–रसुवागढीखण्डको सडक जीर्ण हुँदा मालवाहक सवारीसाधन सञ्चालनमा समस्या हुनुका साथै सम्भावित दुर्घटना न्यूनीकरण गरी जनधनको सुरक्षामा विशेष ध्यान दिन सरोकारवाला निकायलाई आग्रह गरिएको सवारीचालक रसुवाको यार्साका सुकु तामाङले बताए ।

असार २४ गतेको बाढीले दर्जनौँ स्थानमा सडक कटान गरेको थियो । गल्छी–रसुवागढी सडक सुधार आयोजनाले मर्मत गरेर बाटोको ट्रयाक मात्र खोलेको थियो । रासस