सशस्त्र प्रहरीको गोलीबाट अटो चालकको मृत्यु, सुनसरीको लौकही बजार तनावग्रस्त

User Image Prime TV News २ महिना अगाडि
Image of सशस्त्र प्रहरीको गोलीबाट अटो चालकको मृत्यु, सुनसरीको लौकही बजार तनावग्रस्त

सुनसरी । सुनसरीको लौकही बजार क्षेत्रमा सशस्त्र प्रहरी बलको गोली लागेर एक अटो रिक्सा चालकको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ। घटनापछि आक्रोशित स्थानीयले प्रदर्शन गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

बिहीबार राति करिब १ बजे कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो। प्रहरीका अनुसार साह भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायतका सामग्री लिएर नेपालतर्फ आउँदै थिए। घर नजिकै पुगेका बेला सशस्त्र प्रहरीले गोली चलाएको र उनलाई दुई राउण्ड गोली लागेको बताइएको छ।

घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन्। उनीहरूले लौकही खण्डको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका क्रममा आक्रोशित समूहले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी तथा तोडफोडसमेत गरेको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ। कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले अवस्था नियन्त्रणमा ल्याउन अश्रु ग्यास प्रयोग गरिएको र हाल स्थिति क्रमशः सामान्य बन्दै गएको जानकारी दिए।

घटनाबारे छलफल र समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा वार्ताको तयारी भइरहेको पनि डीआईजी घिमिरेले बताएका छन्। घटनाको थप अनुसन्धान भइरहेको र आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।