पार्टी सुधार्नुपर्छ, चुनाव पारदर्शी हुनुपर्छः नेता महेश्वर दाहाल

User Image Prime TV News २ हप्ता अगाडि
Image of पार्टी सुधार्नुपर्छ, चुनाव पारदर्शी हुनुपर्छः नेता महेश्वर दाहाल

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका नेता महेश्वर दाहालले पार्टीभित्र सुधार आवश्यक रहेको स्पष्ट पारेका छन्। उनले भनेका छन् कि पार्टीभित्र केही नेता तथा कार्यकर्ताको भ्रष्टाचार र अनैतिक व्यवहारका कारण जनयुद्ध, त्याग र बलिदान उपहासको विषय बनेको छ।

दाहालका अनुसार करिब ८–१० प्रतिशत नेता तथा कार्यकर्ताको गलत प्रवृत्तिले पार्टीको बलिदानको मूल्य घटाएको छ। उनले सबै नेता र कार्यकर्ताले आत्मआलोचना गर्दै आफ्ना कमजोरीमाथि समीक्षा गर्नुपर्ने जोड दिएका छन्। उनले भने, “सबैले आफ्नै टाउकामा आगो लगाउने साहस गर्नुपर्छ, नत्र अरूले झोस्ने अवस्था आउँछ।”

उनले पार्टीको प्रभाव प्रयोग गरी अवैध रूपमा आर्जन गरिएको सम्पत्ति जनयुद्ध पीडित र परिवारको हितमा प्रयोग गर्नुपर्ने र यदि अकुत सम्पत्ति देखिएमा त्यसलाई राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन्।

आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा दाहालले पार्टीले पारदर्शिता र जनविश्वास सुनिश्चित गर्नुपर्ने बताएका छन्। निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने, स्वदेश तथा विदेशमा रहेका नेपालीले औपचारिक बैंकिङ प्रणालीमार्फत मात्र सहयोग गर्न पाउने र विवादास्पद व्यापारी वा कालो धनबाट आएको रकम स्वीकार नगर्ने प्रतिबद्धता पार्टीले जनाउनुपर्ने उनको भनाइ छ।