सुनसरीमा विजय साहको मृत्युपछि पाँच बुँदे सहमति, परिवारको राहत र छानबिन सुनिश्चित
Prime TV News १ हप्ता अगाडि 
सुनसरी । कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएपछि उत्पन्न तनावलाई समाधान गर्न बिहीबार पाँच बुँदे सहमति भएको छ।
बुधबार राति करिब १ बजे भारतबाट सिटी सफारीमा सामान लिएर फर्कँदै गरेका साह सशस्त्र प्रहरीको गोली लागेर निधन भएका थिए। घटनापछि स्थानीय र पीडित पक्ष आन्दोलित भएका थिए र आन्दोलनका क्रममा सुरक्षा पोष्टमा आक्रमणसमेत भएको थियो।
सहमति अनुसार, घटना छानबिन गरिने, मृतक परिवारलाई उचित क्षतिपूर्ति र रोजगारीको व्यवस्था गरिने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र पीडित पक्षबीच भएको वार्तामा यो सहमति जुटेको हो। सहमति पत्रमा स्थानीय प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र पीडित पक्षका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।
सहमतिका मुख्य बुँदा:
१. छानबिन समिति गठन: सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन। नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि सदस्यसमेत रहने। समितिले ७ दिनभित्र प्रतिवेदन बुझाउने।
२. क्षतिपूर्ति सिफारिस: सुरक्षा अधिकारीको लापरबाही देखिएमा गृह मन्त्रालयमार्फत नियमानुसार राहत र क्षतिपूर्ति सिफारिस गरिने।
३. रोजगारीको व्यवस्था: मृतककी श्रीमतीलाई रोजगारी उपलब्ध गराउने पहल प्रमुख जिल्ला अधिकारीले गर्ने।
४. छोराको सशस्त्र भर्ना सहयोग: मृतकका छोराले इच्छा गरेमा सशस्त्र प्रहरीमा भर्ना हुन आवश्यक सहयोग गरिने।
५. शव व्यवस्थापन: मृतकको शव पोस्टमार्टमका लागि नेपाल प्रहरीले प्राप्त गर्ने र त्यसपछि परिवारले दाहसंस्कार गर्ने।













