कांग्रेसमा विशेष महाधिवेशनको तयारी: भृकुटीमण्डप हल पुस २७–२८ का लागि बुक
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको तयारी सुरु भएको छ। पार्टीको भृकुटीमण्डपस्थित हल पुस २७ र २८ का लागि बुक गरिएको छ। विशेष महाधिवेशन पक्षधर नेताहरूले हल बुकिङ गरेका हुन् । जसको जानकारी कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले दिएका छन्।
गत असोज २९ गते, कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन बोलाउन प्रस्ताव दर्ता भएको थियो। कांग्रेस विधानअनुसार प्रस्ताव दर्ता भएको ३ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने व्यवस्था छ।
पहिले दुवै पक्षले पुस २६–२८ सम्म नियमित महाधिवेशन गर्ने सहमति गरेका थिए। तर, नियमित महाधिवेशन टरेपछि विशेष महाधिवेशन पक्षधरले पहल सुरु गरेका छन्। विशेष महाधिवेशनको पक्षमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पनि छन्।
दुवै जनाले संयुक्त विज्ञप्ति जारी गरी महाधिवेशन आह्वान गर्न लागेको सिवाकोटीले जानकारी दिएका छन्। महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत पनि पुस मसान्तभित्र महाधिवेशन आह्वान गरिसकेका छन्। तर, सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको पक्षमा छैनन् । देउवा अहिले पनि सहमतीमा नै महाधिवेशन गर्न आफू तयार रहेको बताउदै आएका छन् ।













