नीतिगत कमजोरीकै कारण बढ्दो युवा पलायन रोक्न नसकिएको महानिर्देशक तिवारीको भनाइ
Prime TV News १ हप्ता अगाडि .jpg)
काठमाडौ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सरकारका नीतिगत कमजोरीका कारण बढ्दो युवा पलायन रोक्न नसकिएको बताएका छन्। पछिल्ला दुई दशकदेखि विदेश जाने प्रक्रिया नियन्त्रण गर्ने प्रयास भए पनि त्यसले अपेक्षित परिणाम दिन नसकेको उनको भनाइ छ।
बिहीबार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै महानिर्देशक तिवारीले विमानस्थलमा कडाइ गरेर मात्र युवालाई देशमै रोक्न नसकिने स्पष्ट पारे। राज्यले युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनु आवश्यक रहेको उनले बताए।
उनका अनुसार स्टार्टअप, उद्यमशीलता र रोजगारी सिर्जनाका क्षेत्रमा ठोस सहयोग बिना युवालाई विदेश जानबाट रोक्नु सम्भव छैन। “विमानस्थलमा ढोका थुनेर कोही अडिँदैन। युवालाई स्वदेशमै सम्भावना देखाउन सक्नुपर्छ,” उनले भने।
महानिर्देशक तिवारीले अध्यागमन नीतिमा बारम्बार हुने फेरबदलले लागत मात्र बढाएको र अध्यागमन प्रणालीको समग्र ‘इकोसिस्टम’ नै असन्तुलित बनेको टिप्पणी गरे। पछिल्ला २० वर्षमा कहिले अध्यागमन कार्यालयले त कहिले एयरलाइन्सले गरी १५० भन्दा बढी व्यक्तिलाई विदेश जानबाट रोकेको भए पनि त्यसले दीर्घकालीन प्रभाव नपारेको उनको भनाइ थियो।
“एक–दुई महिना त कोही अडिए, तर अन्ततः सबै विदेश नै गए,” उनले भने, “यसले हाम्रो नीतिगत अभ्यास प्रभावकारी नभएको स्पष्ट देखाउँछ।”
उनले अब नियन्त्रणमुखी सोचभन्दा अवसर सिर्जनामुखी नीति अवलम्बन गर्न सरकारलाई आग्रह गरे। युवालाई स्वदेशमै बस्न प्रेरित गर्न आर्थिक, प्राविधिक र नीतिगत सहयोग अनिवार्य रहेको उनको भनाई थियो ।













