भदौ २३–२४ को घटनामा छानबिन तीव्र, पूर्वप्रधानमन्त्री ओलीलाई बयानका लागि बोलाउने तयारी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । गत भदौ २३ र २४ गते भएको घटनासम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ‘जेनजी’ आन्दोलनसँग जोडिएका घटनाबारे तथ्य संकलनका क्रममा ओलीलाई बयानमा बोलाउने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
आयोगले पत्र पठाउँदा ओली उपस्थित नभए के हुने भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष कार्कीले त्यसबारे अहिले नै केही भन्न नसकिने संकेत गर्दै “भोलिको कुरा भोलि नै हुन्छ” भन्ने प्रतिक्रिया दिए। अध्यक्ष कार्कीका अनुसार घटनासँग सम्बन्धित तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिने कार्य भने सम्पन्न भइसकेको छ।
आयोगले घटनाका पृष्ठभूमि, सरकारी निर्णय प्रक्रिया र सुरक्षा व्यवस्थाका विषयमा गहिरो छानबिन गरिरहेको जनाएको छ। पछिल्लो पटक थप गरिएको समयसीमाभित्रै छानबिन कार्य टुंग्याएर प्रतिवेदन बुझाउने तयारी भइरहेको पनि आयोगले जनाएको छ।












