सरकारलाई आइतबारसम्मको अल्टिमेटम, सम्झौता नभए कडा आन्दोलन गर्ने दुर्गा प्रसाईको चेतावनी

User Image Prime TV News १ हप्ता अगाडि
Image of सरकारलाई आइतबारसम्मको अल्टिमेटम, सम्झौता नभए कडा आन्दोलन गर्ने दुर्गा प्रसाईको चेतावनी

काठमाडौ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईले सरकारसँग आइतबारसम्म सहमति नजुटे देशव्यापी आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्उ । उनले सरकार गम्भीर नभए आर्थिक तथा राजनीतिक गतिविधि प्रभावित पार्ने खालका कार्यक्रम अघि सार्ने संकेतसमेत गरेका छन्।

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसहित भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकारले थप समय मागेको र आइतबारसम्म सम्झौता गर्ने प्रतिबद्धता जनाएको बताए। उनका अनुसार सम्झौता भएमा सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट त्यसको कार्यान्वयन गर्ने सहमति भएको छ।

“प्रधानमन्त्रीले आइतबारसम्म सम्झौता गर्ने आश्वासन दिनुभएको छ,” प्रसाईंले भने, “तर त्यो पूरा नभए हामी आन्दोलनमा जान बाध्य हुन्छौं।” उनले आन्दोलनका कार्यक्रम तीव्र हुने बताउँदै लघुवित्त, सहकारी तथा बैंकहरूविरुद्ध गाउँस्तरमै दबाब सिर्जना गर्ने चेतावनी दिए। साथै आगामी फागुन २१ गते तय भएको निर्वाचन प्रक्रिया अवरुद्ध गर्ने सम्भावनासमेत उनले व्यक्त गरे।

प्रसाईंले आफ्ना माग समाधानका लागि जनमत संग्रहजस्ता लोकतान्त्रिक माध्यम प्रयोग गर्न सरकारलाई आग्रह गरिएको उल्लेख गर्दै वार्ताबाट समाधान नआए संघर्षको बाटो रोजिने दाबी गरे। “हामी लोकतान्त्रिक विधिबाटै समाधान चाहन्छौं,” उनले भने, “तर सरकार जिम्मेवार नबने आन्दोलन अपरिहार्य हुन्छ।”