अनसनरत डा. निकोलस भुसालसँग गृहमन्त्री अर्यालको भेट, अनसन तोड्न आग्रह

User Image Prime TV News १ हप्ता अगाडि
Image of अनसनरत डा. निकोलस भुसालसँग गृहमन्त्री अर्यालको भेट, अनसन तोड्न आग्रह

काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले अनसनरत डा. निकोलस भुसालसँग भेट गरी उनका मागप्रति सरकार गम्भीर रहेको बताएका छन्।

बुधबार राति वीर अस्पताल पुगेर गृहमन्त्री अर्यालले भुसालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका हुन्। गृहमन्त्रीको सचिवालयका अनुसार विराटनगरमा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बैठकबाट फर्किए लगत्तै अर्याल वीर अस्पताल पुगेका थिए।

भेटका क्रममा उनले डा. भुसालका मागहरू उचित रहेको उल्लेख गर्दै तिनलाई सम्बोधन गर्न सरकार सकारात्मक रहेको स्पष्ट पारे। गृहमन्त्री अर्यालले लामो समयसम्म अनसन बस्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै डा. भुसाललाई अनसन तोड्न आग्रहसमेत गरेका छन्।

उनका अनुसार माग समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै निष्कर्षमा पुग्ने प्रयास गरिनेछ। डा. भुसालको अनसनलाई लिएर विभिन्न क्षेत्रबाट चासो बढिरहेका बेला गृहमन्त्रीको प्रत्यक्ष भेटलाई वार्ता र समाधानतर्फको सकारात्मक संकेतका रूपमा हेरिएको छ।