संगठित ठगी मुद्दामा रवि लामिछानेसहित चार जनाविरुद्धको धरौटी आदेश उच्च अदालतबाट सदर
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । संगठित रूपमा ठगी गरेको आरोपमा दायर मुद्दामा काठमाडौं जिल्ला अदालतले रवि लामिछाने, छविलाल जोशी, सुनिता नेवा र कमल लामाविरुद्ध जारी गरेको धरौटी आदेश उच्च अदालत पाटनले सदर गरेको छ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र दीपककुमार खरेलको संयुक्त इजलासले जिल्ला अदालतको आदेश कानुनअनुसार नै भएको ठहर गर्दै त्यसमा हस्तक्षेप गर्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो।
इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार जिल्ला अदालतले पुर्पक्षका लागि धरौटी माग गरेको आदेश गैरकानुनी नभएको स्पष्ट पारेको छ। अदालतका अनुसार प्रारम्भिक रूपमा प्रतिवादीहरूको संलग्नता, जाहेरीको विवरण, बयान तथा रकम प्रयोगको अवस्थालाई मूल्याङ्कन गरी धरौटी आदेश गरिएको देखिन्छ।
जाहेरीकर्ता सुमन खनाललगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दा संगठित आर्थिक ठगीसँग सम्बन्धित छ। यसअघि काठमाडौं जिल्ला अदालतले सबै प्रतिवादीलाई धरौटीमा छोड्ने आदेश दिएको थियो, जसविरुद्ध प्रतिवादी पक्ष उच्च अदालत पुगेका थिए।
उच्च अदालतमा भएको सुनुवाइमा नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय पाटनका उप–न्यायाधिवक्ता मोहन खनाल र सहायक न्यायाधिवक्ता अञ्जली शर्माले बहस गरेका थिए। जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठी तथा प्रतिवादीहरूको तर्फबाट विभिन्न कानुन व्यवसायीहरूले बहस गरेका थिए।













