कांग्रेसको महाधिवेशन विवाद निर्णायक मोडमा, केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइयो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली दिउँसो ३ बजेका लागि बोलाएको छ। महाधिवेशनको विषय चरमोत्कर्षमा पुगेका बेला बोलाइएको यो बैठकलाई पार्टीभित्र निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गर्दै विशेष महाधिवेशनको तयारी अघि बढाउने घोषणा गरेपछि कांग्रेसभित्र तनाव थप चुलिएको छ। यस कदमलाई लिएर नेतृत्व तहमा गहिरो मतभेद देखिएको छ।
यही पृष्ठभूमिमा सभापति शेरबहादुर देउवाले आज दिउँसो कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, मिनेन्द्र रिजाल, रमेश लेखकलगायतसँग छलफल गरेका थिए। छलफलमा पार्टीको आगामी रणनीति, नेतृत्वको भूमिकालगायत विषयमा गम्भीर बहस भएको बताइएको छ।
सभापति देउवाले भोलि बिहान आफू निकट नेताहरूको छुट्टै बैठक पनि बोलाएका छन्। यसले कांग्रेसभित्र शक्ति सन्तुलन र निर्णय प्रक्रियामा अझै तानातान बढ्ने संकेत देखिएको छ।













