नेपाली कांग्रेसद्वारा नियमित महाधिवेशन स्थगित
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित गरिएको घोषणा गरेका छन्।
बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले नियमित महाधिवेशन सम्भव नभएकाले अब विकल्पका रूपमा विशेष महाधिवेशन मात्रै बाँकी रहेको स्पष्ट पारेका छन्।
विज्ञप्तिमा उल्लेख भएअनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले तय गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्ने तयारी थियो। तर परिस्थितिवश त्यो सम्भव नभएपछि नियमित महाधिवेशन स्थगित गरिएको हो।
महामन्त्रीद्वयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो। तर निर्धारित समयमै नियमित महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको हो।”
पार्टी विधानको दफा १७(२) अनुसार विशेष महाधिवेशनसम्बन्धी माग सम्बोधन गर्ने जिम्मेवारी केन्द्रीय कार्यालयको भएको र सो जिम्मेवारी अन्तर्गतका कामहरू सकेसम्म सर्वसम्मत ढंगले अघि बढाइने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
महामन्त्रीद्वयका अनुसार महाधिवेशनको मिति तय भइसकेपछि क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा पुगेको छ। हालसम्म ५ लाख ७९ हजार ३ सय ९५ जनाको सदस्यता नवीकरण भइसकेको छ। बाँकी खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लामा प्रक्रिया टुंगिएपछि कुल संख्या ६ लाखभन्दा बढी पुग्ने अनुमान गरिएको छ।
यसअघि कांग्रेसले १५ औँ महाधिवेशन यही पुस २६, २७ र २८ गते गर्ने निर्णय गरेको थियो। तर नेतृत्वको असमर्थता, आन्तरिक शक्ति संघर्ष र निर्णयहीनताका कारण त्यो योजना कागजमै सीमित भएको छ।













