कांग्रेसभित्र शक्ति संघर्ष चर्किँदै, शीर्ष नेताको आपतकालीन बैठक

User Image Prime TV News १ हप्ता अगाडि
Image of कांग्रेसभित्र शक्ति संघर्ष चर्किँदै, शीर्ष नेताको आपतकालीन बैठक

काठमाडौ । नेपाली कांग्रेसभित्र महाधिवेशनलाई लिएर देखिएको विवाद झन् चर्किएको छ।

महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशनको विकल्प अघि सारेपछि सभापति शेरबहादुर देउवाले आन्तरिक राजनीतिक गतिविधि तीव्र बनाएका छन्।

बिहीबार साँझ देउवा निवास महाराजगञ्जमा सभापति देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग छलफल गरेका छन्।

छलफलमा महामन्त्रीद्वयको पछिल्लो कदमलाई गम्भीर रूपमा लिइएको र त्यसले पार्टीमा गम्भीर संकट निम्त्याउने खतरा रहेको निष्कर्ष निकालिएको बताइएको छ।

छलफलमा सहभागी नेता रमेश लेखकका अनुसार महामन्त्रीहरूले जिम्मेवारीबाट पन्छिँदै नियमित महाधिवेशन हुन नसकेको दोष सभापतिमाथि थोपर्ने प्रयास गरेका छन्।

यसप्रति देउवा असन्तुष्ट देखिएका छन्। उनले विशेष महाधिवेशन कुनै पनि हालतमा उचित नहुने र त्यसले पार्टीलाई विभाजनतर्फ धकेल्ने स्पष्ट धारणा राखेका छन्।

“नियमित महाधिवेशन गरौँ भनेर मिति पनि तोकिएको थियो। प्रयास गर्दा गर्दै हुन सकेन। त्यसको दोष ममाथि थोपर्न खोज्नु अन्याय हो,” देउवाको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।

महामन्त्री थापा र शर्माले विशेष महाधिवेशनका लागि थालेका गतिविधिबारे थप छलफल गर्न देउवाले शुक्रबार बिहान पार्टीका शीर्ष नेताहरूलाई बोलाएका छन्। 

यसैबीच कांग्रेस प्रवक्ता प्रकाशशरण महतले महामन्त्रीहरूको गतिविधि औपचारिक रूपमा समीक्षा गरिने बताएका छन्। “क्रियाशील सदस्यता टुंग्याउने जिम्मेवारी महामन्त्रीकै हो। त्यो काम नगरेर नियमित महाधिवेशन नभएको हो,” उनले भने, “मिति तोकिसकेपछि विशेष महाधिवेशनको कुरा उठाउनु गैरजिम्मेवार हो। भोलिको छलफलमा सबै कुरा छिनोफानो हुन्छ।”