कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज
Prime TV News १ हप्ता अगाडि काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ।
बैठकमा पछिल्ला दिनदेखि चर्किँदै गएको महाधिवेशनसम्बन्धी विवाद मुख्य एजेन्डा रहने बताइएको छ। विशेष गरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशनको विकल्प अघि सारेपछि कांग्रेसभित्र तनाव झनै बढेको छ।
बिहीबार महामन्त्रीद्वयले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन निर्धारित समयमै सम्भव नभएको जनाउँदै पार्टी विधानको दफा १७ (२) अनुसार विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने बताएका थिए।
उनीहरूले विशेष महाधिवेशनसम्बन्धी माग सम्बोधन गर्नु केन्द्रीय कार्यालयको संवैधानिक जिम्मेवारी भएको दाबी गरेका छन्।
कांग्रेसमा विशेष महाधिवेशनको माग गत असोज २९ गते २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएर अघि सारेका थिए। तर संस्थापन पक्षले भने उक्त मागमाथि निर्णय गर्ने अधिकार केन्द्रीय कार्यसमितिकै भएको दाबी गर्दै आएको छ।
उनीहरूले नियमित महाधिवेशनको प्रक्रिया अघि बढिसकेको अवस्थामा विशेष महाधिवेशनको बहस अनुचित भएको बताएका छन् ।
यता विशेष महाधिवेशन पक्षधर नेताहरूले भने तीन महिनासम्म मागलाई बेवास्ता गरिएकाले आफूहरू बाध्य भएर प्रक्रिया अघि बढाउनुपरेको बताएका छन्।
पार्टीभित्र देखिएको यो शक्ति संघर्षले कांग्रेसलाई गम्भीर मोडमा पुर्याएको छ। नेतृत्व तहमा सहमति नजुटे कांग्रेसको आन्तरिक संकट अझै गहिरिने संकेत देखिएको छ ।













