बंगलादेशमा हिन्दु समुदायमाथि फेरि जघन्य हमला, एक जना जीवन मृत्युको सङ्घर्षमा

User Image Prime TV News १ हप्ता अगाडि
Image of बंगलादेशमा हिन्दु समुदायमाथि फेरि जघन्य हमला, एक जना जीवन मृत्युको सङ्घर्षमा

काठमाडौ । बंगलादेशमा हिन्दु समुदायलाई लक्षित गर्दै फेरि एकपटक अमानवीय र हिंसात्मक आक्रमण भएको छ।

सरियतपुर जिल्लामा ५० वर्षीय खोकन चन्द्र दासमाथि धारिलो हतियार प्रहार गरी पेट्रोल खन्याएर आगो लगाइएको छ। गम्भीर घाइते अवस्थामा रहेका उनी हाल ढाकाको एक अस्पतालमा जीवन र मृत्युबीच संघर्ष गरिरहेका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार घटना डिसेम्बर ३१ गते राति करिब ९:३० बजे दामुद्या उपजिल्लाको कोनेश्वर युनियनअन्तर्गत केउरभंगा बजार नजिक भएको हो।

औषधि पसल तथा मोबाइल बैंकिङ सेवा सञ्चालन गर्दै आएका खोकन दास पसल बन्द गरेर घर फर्कँदै गर्दा आक्रमणकारीहरूले बाटोमै घेरा हालेर कुटपिट गरेका थिए। त्यसपछि धारिलो हतियारले प्रहार गरी उनको टाउको र अनुहारमा पेट्रोल खन्याएर आगो लगाइएको थियो।

गम्भीर अवस्थामा रहेका खोकनले अन्तिम प्रयासस्वरूप नजिकैको पोखरीमा हाम फालेर ज्यान जोगाएका थिए। स्थानीयवासीको सहयोगमा उनलाई उद्धार गरी अस्पताल पुर्‍याइएको हो। चिकित्सकका अनुसार उनको अवस्था चिन्ताजनक छ।

यो घटना पछिल्ला दुई साताभित्र बंगलादेशमा हिन्दु समुदायमाथि भएको चौथो गम्भीर आक्रमण हो। यसअघि पनि हिन्दु नागरिकको हत्या तथा आक्रमणका घटना सार्वजनिक भइसकेका छन् । जसले देशमा अल्पसंख्यक समुदायको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।