जसपा नेपालले प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस प्रक्रिया सुरु गर्‍यो

User Image Prime TV News १ हप्ता अगाडि
Image of जसपा नेपालले प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस प्रक्रिया सुरु गर्‍यो

काठमाडौ । जनता समाजवादी पार्टी नेपालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ।

पार्टीले प्रदेश तथा जिल्ला समितिलाई आवश्यक मापदण्ड पूरा गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्न निर्देशन दिएको छ। पार्टी विधानको धारा ११७ उपधारा (३) अनुसार उम्मेदवारको योग्यता र मापदण्डका आधारमा छनोट गरी नामावली पठाउन भनिएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार प्रत्येक प्रतिनिधिसभा क्षेत्रीय समितिको निर्णयसहित उम्मेदवारको नाम संकलन गर्नुपर्नेछ। संकलित नामावली रायसहित सात दिनभित्र अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा पेस गर्न प्रदेश र जिल्ला समितिलाई निर्देशन दिइएको छ।

साथै, सिफारिस गरिएका उम्मेदवारहरूको राजनीतिक पृष्ठभूमि, अनुभव तथा पार्टीमा पुर्‍याएको योगदान स्पष्ट रूपमा उल्लेख गर्न भनिएको छ। पार्टीका अनुसार प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम टुंगो पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा रहेको संघीय संसदीय बोर्डले गर्नेछ। यस प्रक्रियाले पार्टीलाई सशक्त र योग्य उम्मेदवार चयन गर्न सहयोग पुग्ने जसपाको अपेक्षा रहेको छ।