कांग्रेसमा महाधिवेशनको टकराव, देउवाले आकस्मिक रूपमा शीर्ष नेताको बैठक बोलाए
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर आन्तरिक विवाद तीव्र बनेको छ।
नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशन बोलाउने महामन्त्रीद्वयको निर्णयपछि पार्टी नेतृत्वबीच मतभेद सतहमा आएको हो। विवाद बढेपछि पार्टी सभापति शेरबहादुर देउवाले समाधान खोज्न आकस्मिक रूपमा शीर्ष नेतासँग छलफल थालेका छन्।
देउवाको सचिवालयका अनुसार शुक्रबार बिहान देउवाले आफ्नै निवास महाराजगञ्जमा पार्टीका प्रमुख नेताहरूलाई छलफलका लागि बोलाएका हुन्। जेनजी आन्दोलनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएर बसेका देउवा महाधिवेशनसम्बन्धी निर्णयले संगठनात्मक सन्तुलन बिग्रन सक्ने निष्कर्षमा पुगेपछि सक्रिय बनेका छन्।
कार्यवाहक सभापति खड्का निवासमा पुगिसकेपछि अन्य नेताहरू पनि छलफलमा सहभागी गराइएको बताइएको छ। महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले बिहीबार विशेष महाधिवेशन गर्ने निर्णय सार्वजनिक गरेपछि संस्थापन पक्षले आपत्ति जनाएको थियो।
संस्थापन समूहले नियमित प्रक्रियाविपरीत भएको भन्दै निर्णय मान्य नहुने जनाएको छ। यसै विवादका बीच कांग्रेसले शुक्रबार दिउँसोका लागि केन्द्रीय कार्यसमिति बैठक पनि बोलाएको छ।












