जेनजी आन्दोलन छानबिन आयोगको दायरामा शीर्ष नेताहरू, देउवा–प्रचण्डसँग लिखित स्पष्टीकरण माग
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानबिन गरिरहेको उच्चस्तरीय आयोगले राजनीतिक नेतृत्वसँग प्रत्यक्ष रूपमा जवाफ माग्न थालेको छ। आयोगले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित प्रश्न पठाएको छ।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा शान्तिपूर्ण आन्दोलन हिंसात्मक बनेपछि दुवै नेताको निवासमा आगजनी भएको थियो। साथै, सोही प्रदर्शनका क्रममा किशोरहरूको ज्यान जाने अवस्था सिर्जना भएपछि आयोगले घटनाको समग्र पृष्ठभूमि, सुरक्षा संयन्त्रको भूमिका र राजनीतिक निर्णय प्रक्रियाबारे अनुसन्धान गरिरहेको छ।
न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ। आयोग स्रोतका अनुसार ओलीलाई बयानका लागि उपस्थित हुन शुक्रबारसम्म औपचारिक पत्र पठाइने तयारी गरेको छ ।
यसैबीच, आयोगले पाँच जना पूर्व उच्च पदस्थ अधिकारीमाथि लगाइएको उपत्यका नछाड्ने र विदेश भ्रमणमा रोक लगाउने निर्णय फुकुवा गरेको छ। फुकुवा हुनेमा तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणी दुवाडी, नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा रहेका छन्।
तर, केपी शर्मा ओलीमाथिको प्रतिबन्ध भने कायमै राखिएको छ।
आयोगले हालसम्म १५० भन्दा बढी व्यक्तिसँग बयान लिइसकेको जनाएको छ। घटनास्थलका प्रत्यक्षदर्शी, सुरक्षाकर्मी, प्रशासनिक अधिकारी र केही मृतकका परिवारसँग समेत घटनाविवरण कागज गरिएको छ।
छानबिनका क्रममा प्रधान सेनापति अशोकराज सिग्देल, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीसहित सुरक्षाका उच्च अधिकारीहरूबाट बयान संकलन गरिएको आयोगले जनाएको छ।
आयोगले जेनजी आन्दोलनका क्रममा भएका हिंसा, आगजनी र मृत्युसँग सम्बन्धित घटनामा जिम्मेवारीको तह निर्धारण गर्ने तयारी गरिरहेको छ।













