पार्टी विभाजन नहोस् भन्ने आफ्नो इच्छा छः सभापति देउवा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसमा निर्वाचनअघि विशेष महाधिवेशन हुनुपर्ने माग गर्दै संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यको समूहले सभापति शेरबहादुर देउवासँग भेट गरी पार्टीभित्रको विवाद समाधानको पहल गरेको छ। सभापति देउवाले पनि पार्टी विभाजन नहोस् भन्ने आफ्नो इच्छा व्यक्त गरेको जनाइएको छ।
समूहले शुक्रबार बिहान महाराजगञ्जस्थित देउवाको निवासमा छलफल गरी पार्टीलाई निकास दिन र विभाजनबाट बचाउने पहलमा जोड दिएको छ। केन्द्रीय सदस्य डा. डिला संग्रौलाले आफूहरूले चुनावअघि नियमित महाधिवेशन र विशेष महाधिवेशनको बीचको सहमति कायम राख्दै भूमिका निर्वाह गरिरहेको जानकारी दिइन्।
उक्त समूहले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गर्दै विशेष महाधिवेशनको तयारी अघि बढाइरहेको छ। समूहले केही दिनभित्रै २७ पुसका लागि विशेष महाधिवेशन घोषणा गर्ने तयारी गरेको र भृकुटीमण्डप बुक गरिसकेको छ।
यसअघि, १६ पुसमा तय भएको वडा अधिवेशन प्रभावित भएपछि महामन्त्रीद्वयले नियमित अधिवेशन स्थगित गर्ने निर्णय गरेका थिए। नियमित महाधिवेशन स्थगनपछि कांग्रेसले शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।













